राजा फालेका जनताले नदेखेको पोखराको दरबार रत्नमन्दिर, अब कहिले खुल्ला ?

कटेज शैलीमा बनाएको बंगलालाई कान्छी रानी रत्नको नामबाट रत्नमन्दिर नामाकरण

तत्कालीन राजा महेन्द्र शाहको मन पर्ने ठाउँ थियो, पोखरा । महेन्द्रले पोखरा आउँदा फेवा किनारमा टहलिन र बास बस्ने ठाउँको परिकल्पना गरे । महेन्द्रको परिकल्पनाले ०१५ सालमा पूर्णता पायो । महेन्द्रले फेवा किनारमा बनाएको बंगलाको नाम दिए, रत्नमन्दिर । कटेज शैलीमा बनाएको बंगलालाई कान्छी रानी रत्नको नामबाट रत्नमन्दिर नामाकरण गरेका थिए । रत्नमन्दिरमा महेन्द्रका किस्साहरु वीपीले आफ्नो आत्मवृतान्तमा पनि उल्लेख गरेका छन् । महेन्द्रपछि वीरेन्द्रको मनपर्ने र प्रिय ठाउँ थियो, रत्नमन्दिर । पोखरा आउँदा राजपरिवारको बास रत्नमन्दिरमै हुन्थ्यो । वीरेन्द्रको वंशनाश हुँदा ज्ञानेन्द्र शाह रत्नमन्दिरमै थिए । ज्ञानेन्द्रले ०५८ जेठ १९ को रात रत्नमन्दिरमा बिताएका थिए ।

रत्नमन्दिरको पूर्वमा महेन्द्रका माइला भाइ हिमालय वीरविक्रमका नाममा बनेको हिमा गृह पनि अझै जनताको पहुँचभन्दा बाहिर

फेवा किनारको रत्नमन्दिरमा राजाको आउ–जाउ त्यतिबेला टुट्यो, जतिबेला राज संस्थाको जनतासँग सम्बन्ध टुट्यो । ज्ञानेन्द्र नै रत्नमन्दिरमा रमाउने अन्तिम राजा बने । २०६२/०६३ को जनआन्दोलनपछि वीरेन्द्रको नाममा रहेको रत्नमन्दिर पनि जनताको भयो । ०६४ साल असोज २१ गतेको मन्पिरिषदको निर्णयले रत्नमन्दिरलाई नेपाल ट्रष्टको नाममा ल्याउने निर्णय गर्‍यो । तर, राजसंस्थालाई घुँडा टेकाएर गणतन्त्र ल्याएका जनताले रत्नमन्दिर कस्तो छ ? अझै हेर्न पाएका छैनन् । रत्नमन्दिरको पूर्वमा महेन्द्रका माइला भाइ हिमालय वीरविक्रमका नाममा बनेको हिमा गृह पनि अझै जनताको पहुँचभन्दा बाहिर छ । राजसंस्थापछि बनेका प्रत्येक सरकारका पालामा रत्नमन्दिर र हिमागृह जनताका लागि खोल्ने चर्चा चल्छ तर खुल्दैन ।

रत्नमन्दिर कहिले संग्रहालय बनाएर जनतालाई खुलाउने, कहिले ५ तारे होटल बनाउने त कहिले सरकारी आवास बनाउने बहस र चर्चामा हुँदै आएको छ । विभिन्न समयमा नेतादेखि मन्त्रीसम्मले बोले तर पूरा भएन । प्रदेश सरकार गठन भएपछि पर्यटनमन्त्री विकास लम्सालले प्रदेशले रत्नमन्दिर र हिमागृह खुलाउने बताए । जबकि यो प्रदेश मातहत नै छैन ।

‘थुप्रै पटक रत्नमन्दिर खुला गर्ने विषय आएको छ, सेलाएको छ । ठट्टा नहोस् यसपटक ।’

पछिल्लो पटक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बोलेका छन् । प्रचण्डले बिहीबार पोखरामा भने, ‘जोड गरेर भए पनि गर्नैपर्छ भन्ने लागेको छ अहिले । हिमा गृह र रत्नमन्दिरलाई खुला गराउनैपर्‍यो । खुला गराउन केही दुःखै छैन, मन्त्रिपरिषदले निर्णय गरिदिने बित्तिकै भइहाल्छ ।’ रत्नमन्दिर र हिमा गृहमात्रै खुला गर्न सकियो भने पोखरामा पर्यटक आउने र कम्तिमा एक दिन बसाइ थपिए राम्रो हुने प्रचण्डको भनाइ थियो । ‘मेरो तर्फबाट भोलि प्रधानमन्त्रीलाई गरिहाल्नुस् भन्नेछु,’ प्रचण्डले आश्वस्त पारे ।

प्रचण्डको आश्वासनसँगै पोखराका व्यवसायीमा केही आशा जगाएको छ । ०७३ सालमै हिमागृह र रत्नमन्दिर जनताका लागि खुला गरिने बताइएको थियो । ट्रस्टले ०७३ वैशाख ८ गतेदेखि सर्वसाधारणका लागि खुला गर्ने निर्णय गर्दै मर्मत, थप पूर्वाधार निर्माण र टिकट छपाइको कामसमेत सुरु गरेको बताएको थियो । यसपटक प्रचण्ड आफैंले तत्काल सर्वसाधारका लागि खुला गर्ने बचन दिएपछि पोखराका व्यवसायी उत्साही छन् । उनीहरु भन्छन्, ‘थुप्रै पटक रत्नमन्दिर खुला गर्ने विषय आएको छ, सेलाएको छ । ठट्टा नहोस् यसपटक ।’

पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले प्रचण्ड आफैंले रत्नमन्दिर र हिमागृह खोल्न प्रधानमन्त्रीसँग आग्रह गर्ने बताएपछि विश्वस्त भएको बताए । ‘मन्त्रिपरिषदको निर्णयबाटै खुल्न सक्ने भएकाले यो ठूलो विषय होइन,’ पोखरेलले भने, ‘पर्यटकीय आकर्षण कसरी बनाउन सकिन्छ भने परिमार्जन गर्न जरुरी छ । ऐतिहासिक महत्वलाई बुझाएर थुप्रै पर्यटक तान्न सक्छौं ।’

रत्नमन्दिरमा प्रशासनिक भवन, फेवातालसँगै ताल घर, सैनिक बस्ने ३८ कोठे लामो भवन छ । मुख्य भवनमा ११ कोठा

संघीय पर्यटन मन्त्रालयका विज्ञ समूह सदस्य वासु त्रिपाठीले सरकार चलाइरहेको पार्टीका अध्यक्षले आस्वस्त पारेकाले उत्साही भएको बताए । रत्न मन्दिरलाई खुला गर्ने र त्यसलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने, त्यसको महत्व बुझाउने हो भनेमात्रै पनि ठूलो उपलब्धि हुने त्रिपाठीको भनाइ छ । ‘पोखरासँग प्रचण्डको एक खालको सेन्टिमेन्ट पनि छ र पोखरालाई केही गर्न पाए हुन्थ्यो भन्ने भावना पनि उहाँमा छ । प्रधानमन्त्रीसँग सल्लाहमा गृह मन्त्रालय मातहत रहेको ट्रष्ट खोल्न ठूलो समस्या देखिँदैन,’ त्रिपाठीले भने, ‘बरु त्यो सञ्चालनका निम्ति व्यवस्थापन समिति बनाउने र ऐतिहासिकतालाई बेच्ने योजना चाहिन्छ ।’

१ सय १४ रोपनी क्षेत्रफलमा फैलिएको रत्नमन्दिरमा प्रशासनिक भवन, फेवातालसँगै ताल घर, सैनिक बस्ने ३८ कोठे लामो भवन छ । मुख्य भवनमा ११ कोठा छन् । तत्कालीन राजारानीले सुतेका कोठा, आराम गर्ने र खाना खाने कोठाहरु छन् । रत्नमन्दिरलाई अहिले नेपाली सेनाले पहरा दिँदै आएको छ ।

अमृत सुवेदी/अनलाइनखबर

प्रकाशित मिति June 21, 2019
Loading...