यसो सोच्छु, ६५ वर्षअघि दशरथ रङ्गशाला बनेको रहेछ…..

– नारायण गाँउले

यसो सोच्छु, पैँसठ्ठी वर्षअघि दशरथ रङ्गशाला बनेको रहेछ । महेन्द्रले त्यही बेला एअरपोर्ट पनि बनाएका रहेछन् । राष्ट्रिय बजेट साह्रै थोरै थियो र पनि पूर्वपश्चिम राजमार्ग कसरी बन्न सक्यो होला ? चीन जोड्ने अरनिको राजमार्गका निम्ति कति समय लाग्यो होला ? त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग सम्पन्न गर्न पनि पक्कै बजेट थिएन होला । अलिकति खुला ठाउँ चाहिन्छ भनेर खुलामञ्च कसले राख्यो होला ?

विश्वविद्यालयको नाममा बल्खुको त्यत्रो डाँडा छुट्याउने दूरदृष्टि शासकमा कहाँबाट आयो होला ?

चितवनमा कृषि क्याम्पस र अनुसन्धानका लागि सयौं बिगा जग्गा छुट्याउने चेतना कसले दियो होला ? त्यही जग्गा मासेर अहिले धुर्मुस स्टेडियम बन्दै छ । वीर अस्पतालदेखि कान्ति र टिचिंग अस्पताल बनाउन पनि पक्कै ठूलो खर्च चाहियो होला ।

राष्ट्रिय नाचघरदेखि प्रज्ञाप्रतिष्ठानसम्म देशलाई चाहिन्छ भनेर कसले सोच्यो होला ? ठाउँ ठाउँमा प्राविधिक शिक्षालय, प्रदर्शनी मार्ग, राष्ट्रिय सभागृह, लहरै क्याम्पसहरू कसरी बने होलान् ? अहिले त बिजुलीबस उद्घाटनका दिनमात्रै चल्ने गर्छन्, त्यो ट्रलीबस चलाउने बुद्धि कसले दियो होला ? औलो उन्मूलनदेखि पुनर्वाससम्मका विशाल योजना कसरी सफल भए होलान् ?

आयात निर्यातमा सहज हुने गरी विराटनगरलगायतका औद्योगिक करिडोर बनाउने चेष्टा कहाँबाट आयो होला ? यी सबै काम त्यति थोरै राष्ट्रिय बजेटबाट कसरी सम्भव भए होलान् ? अझ आफैले पहल गरेर सार्कजस्तो क्षेत्रीय सङ्गठन निर्माण गर्ने आत्मबल कसरी पैदा भयो होला ? अहिले त डर लागिरहन्छ, देशहरूले देश निलिरहेको त्यो बेला हामी कसरी स्वतन्त्र बनिरह्यौं होला ? सम्झिँदा पनि गर्व लाग्छ, एकादेशमा काठामाडौंबाट सोझै युरोपको फ्लाइट पनि हुन्थ्यो रे, अहिले भारत हुँदै जानुपर्छ । हाम्रा शासकलाई लिन बेलायती महारानीदेखि अमेरिकी राष्ट्रपति स्टेशनसम्मैं गएका तस्बीर अझै हेर्न पाइन्छन् ।

हामी छ दशकअघि नै सर्वाङ्गीण विकासबारे सोच्न सक्ने बनिसकेका रहेछौं । तर, आज आएर एउटा खानेपानीको योजना सम्पन्न गर्न २० वर्ष लाग्ने कसरी भयो होला ? दशकौं अघि स्वाभिमानको अर्थ बुझेका हामी नाथे तरकारीमा बिष छ छैन भन्ने जाँच्न पनि नसक्ने गरी कमजोर कसरी भयौं होला ? च्वास्स बिझ्दैन ?

Pic : अमेरिकी संसदमा राजा महेन्द्र

प्रकाशित मिति July 7, 2019
Loading...