हामीलाई जोगाउन आउँदै छन् यस्ता लामखुट्टे

पोखरा २६ भदौ- लामखुट्टेले आफ्नो पखेटा फडफडाउँदा निस्कने ‘भुउँ’ । भुउँ गर्दै आएको लामखुट्टे बिस्तारै हाम्रो शरीरको खुला भागमा बस्छ, ब्लेडजस्ता दुइटा तीखो सुइरोले छालामा प्वाल बनाउँछ र त्यसका अन्य दुई रिट्र्याक्टरले त्यसको प्रोबोसिक्स (रगत चुस्ने सुइरो) का लागि बाटो बनाइदिन्छन् ।

यही सुइरोको मद्दतले लामखुट्टेले हाम्रो रगत चुसिरहँदा छैटौं सुईले र्‍यालजस्तो पदार्थ भित्र पठाउँछ, जसले गर्दा रगत जम्न पाउँदैन । यो प्रक्रिया यति छिटो हुन्छ, हामीले त्यसलाई प्याट्ट मार्न पनि भ्याउँदैनौं ! पोथी लामखुट्टेलाई अन्डा बनाउन हाम्रो रगतको आवश्यकता पर्छ । त्यसैले यसले जोसुकैलाई टोक्ने गर्छ ।

लामखुट्टेले पुरुषका तुलनामा महिलालाई बढी टोक्छ वा कालो कपाल हुनेलाई भन्दा खैरो कपाल हुनेप्रति बढी आकर्षित हुन्छ भन्नेजस्ता कुरा केवल कथन मात्रै हुन् । त्यसमा कुनै सत्यता छैन । यद्यपि लामखुट्टेलाई अन्यको तुलनामा ‘ओ पोजिटिभ’ रगत भने मन पर्छ । गन्हाउने खुट्टाबाट निस्कने ब्याक्टेरियाको गन्ध पनि लामखुट्टेलाई मन पर्छ ।

त्यसैले आफूलाई मन पर्ने स्थानमा बसेर छुट्टिँदा त्यसले चिलाउने डाबर (लामखुट्टेको र्‍यालको एलर्जिक रियाक्सन) र त्योभन्दा पनि खतरनाक रोगहरूको संक्रमण, जस्तै– डेंगु, मलेरिया, जिका आदि, उपहारका रूपमा दिने गर्छ ।

लामखुट्टेहरू हाम्रो शीर्ष शत्रु हुन् । पृथ्वीमा मानिसहरूको सबैभन्दा खतरनाक सिकारी । लगभग एक हजार खर्ब लामखुट्टेले विश्वको प्रायः हरेक इन्च जमिनमा निगरानी गरिरहेका हुन्छन् । यसका कारण विश्वमा लगभग हरेक वर्ष ७ लाख मानिसको मृत्यु हुन्छ । शोधकर्ताहरूको दाबी मान्ने हो भने, २ लाख वर्षभन्दा बढीको इतिहासमा लामखुट्टेले ५४ अर्ब मानिसलाई मारिसकेका छन् ।

एक्लै उड्ने लामखुट्टेले सीधा कसैलाई पनि क्षति पुर्‍याउन सक्दैन । यसका कारण फैलने रोगले भने भयावह रूप लिन सक्छ । यसको सहायताबिना धेरै कीटाणुको अस्तित्व नै समाप्त हुन्छ होला । लामखुट्टे नभएका भए मानव इतिहास पहिचान नै गर्न नसकिने गरी भिन्न हुन्थ्यो होला ।

लामखुट्टे र त्यसले बोक्ने रोगहरूले विश्वमा सदियौंदेखि व्यापारी, यात्री, सैनिक र स्थानीय बासिन्दालाई सिकार बनाएका छन् । विश्वमा निर्मित कुनै पनि हतियारले भन्दा लामखुट्टेका कारण धेरैले ज्यान गुमाएका छन् । पोन्टाइनको सिमसारमा मलेरिया बोकेको लामखुट्टेले रोमन राज्यको उदय र पतन दुवैमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो । सुरुमा यसले सुन्दर सहरलाई भिसिगोथ्स, हन्स र भ्यानडाल्सबाट जोगायो र पछि त्यही खतरनाक सुइरो रोमनतर्फ तेर्स्यायो ।

लामखुट्टेले नै क्रुसेड्सको समयमा पवित्र भूमिलाई जोगाउन क्रिस्टियन सैनिकलाई मद्दत गरेको थियो । त्यसले युरोपेली सैनिकलाई मलेरिया र ‘यल्लो फिभर’ लगाएर लडाइदिएको थियो । यस्तै, १८ औं र १९ औं शताब्दीमा भएका अमेरिकी क्रान्तिमा यसले धेरै उलटफेर गराइदियो । योर्कटाउनमा बेलायतीहरूले आत्मसमर्पण गर्नुपर्नाको मुख्य कारक नै लामखुट्टे थियो ।

लामखुट्टेले मलेरिया मात्रै नभई डेंगु,वेस्ट नाइल, जिका र विभिन्न प्रकारकाइन्सेफ्लाइटिस जस्ता रोग पनि सार्छ । खासमा यी रोग लाग्नेबित्तिकै मानिसको ज्यान त जाँदैन, तर यसले गर्दा आउने ज्वरोका कारण कलेजोलाई हानि हुन सक्छ, नाक–मुख र आँखाबाट रक्तस्राव हुन सक्छ र मान्छे कोमामै पनि जान सक्छ । आज विश्वभरमा करिब ४ अर्ब मानिस लामखुट्टेका कारण हुने रोगबाट पीडित हुने गरेका छन् ।

हाम्रा पुर्खाहरूझैं हाम्रो पनि लामखुट्टेसँग जीवन–मृत्युको लडाइँ जारी छ । र लाग्छ, अहिले यो लडाइँ निकै अगाडि बढेको छ । ‘साइलेन्ट स्प्रिङ’ मा रासेल कार्सनले लेखेकी छन्, ‘बोटबिरुवा र जनावरप्रति हाम्रो धारणा निकै संकुचित छ । कुनै कारणले हामीलाई उनीहरूको अस्तित्व मन परेन वा कुनै मतभेद भयो भने त्यसलाई पूर्ण रूपमा समाप्त पार्न लागिपर्छौं ।’ उनले सायद त्यति बेला जीनलाई नै सम्पादन गर्ने प्रविधि (क्रिस्पर) बारे कल्पनासम्म पनि गरेकी थिइनन् ।

२०१२ मा विश्वले थाहा पाएको क्रिस्पर यस्तो प्रविधि हो, जसले डीएनएको सिक्वेन्सबाट एउटा जिनलाई अर्कोबाट प्रतिस्थापन गरिदिन्छ । यो आविष्कारलाई ‘विलुप्त पार्ने मेसिन’ को संज्ञा पनि दिइएको छ । किनभने यसले हामीलाई कुनै पनि जीवको प्राकृतिक उदयलाई रोक्न सक्ने क्षमता प्रदान गरेको छ । यही प्रविधिको उपयोग गरेर भविष्यमा प्रजनन गर्न नसक्ने लामखुट्टेको लार्भा उत्पादन गराइँदै छ ।

त्यस्ता लामखुट्टेलाई खुला गरिदिने हो भने विश्वबाट केही समयमै पीडक लामखुट्टे विलुप्त हुनेछन् । त्यसपछि मान्छेलाई लामखुट्टेको कहिल्यै डर हुनेछैन । र यसको अर्थ के पनि हो भने, कुनै बेला विज्ञानको कल्पना मानिने विषय अहिले वास्तविकतामा परिणत हुने भएको छ । ‘हामी ऊनैऊनले छोपिएको म्यामथदेखि टोक्दै नटोक्ने लामखुट्टे भएको नयाँ संसार बसाउन सक्छौं,’ स्ट्यान्फोर्ड युनिभर्सिटीमा सेन्टर फर ल एन्ड बायोसाइन्सेसका निर्देशक हेनरी ग्रिलीले स्मिथसोनियन म्यागजिनलाई भनेका छन् ।

अब प्रश्न उठ्न सक्छ, ‘हामीलाई त्यसबारे कस्तो लाग्छ ? हामी प्रकृतिमा बस्न चाहन्छौं कि डिज्नील्यान्डमा ?’ हामीले चाहेको कुरा केही हदसम्म सही पनि होला, तर त्यसले पार्ने प्रभावबारे समयमै सतर्क हुन भने जरुरी छ । हामी रोग सार्ने लामखुट्टेलाई पूर्ण रूपमा हटाउन सफल भयौं भने के अन्य लामखुट्टेका प्रजाति वा कीराहरूले त्यसको स्थान लेलान् त ? के एउटा रोगनिमिट्यान्न पारेर अर्को रोग निम्त्याउनु ठीक हो ?

लामखुट्टे पूर्ण रूपमा हट्दा जैविक सन्तुलनमा कस्तो असर पर्ला ? तर अहिले पनि हामीले लामखुट्टेको क्षमतालाई कम आकलन गरिरहेका छौं । इतिहासमा लामखुट्टे डीडीटीको वर्षालाई परास्त गरेर अगाडि बढेको जीव हो र यसले क्रिस्परलाई पनि मात दिँदैन भन्न सकिँदैन ।

इतिहासले देखाएकै छ, लामखुट्टेले अस्तित्व जोगाउन विज्ञानको आँखामा छारो हालेकै हो । विश्वमा लाखौं–करोडौं वर्षदेखि दबदबा राख्दै आएको जीवले अहिलेको विश्वलाई पनि हल्लाइरहेकै छ ।

प्रकाशित मिति September 12, 2019
Loading...